04/12/2019
#सन्दर्भ: साग (दक्षिण एसियाली खेलकुद प्रतियोगिता)
#तस्विर: निर्माणाधिन दशरथ रंगशाला ||
बि स २०१३ सालमा राजा महेन्द्रको राज्याभिषेकको अवसर पारेर विभिन्न खेल आयोजना गर्ने निर्णय भएपछि पहिलो पल्ट रंगशालाको आवश्यकता महसुस भएपछि किरण शमशेरको नेतृत्वमा रंगशालाको निमार्णको योजना अगाडि बढाइयो ।
रंगशालाको पहिलो खाका तयार हुनु अघि बि स २०११ सालसम्म मसानघाट कै रूपमा परिचित यस स्थानमा काठमाडौंका पोडें र जोगीहरूको लास जलाउने तथा गाड्ने गरिन्थ्यो । बि स २०१३ सालभन्दा अगाडि भने हाल रंगशाला परिसरमा रहेको कभर्ड हलको खाली मैदानमा सार्वजनिक रूपमा फुटबल खेलिन्थ्यो जसलाई सानो टुँडीखेल भन्ने गरिन्थ्यो । हालको फुटबल मैदान भएको स्थानमा ठूलो खाल्डो र यससँगै कमल फुल्ने पोखरी पनि थियो। राज्याभिषेकको अवसरमा खेलकुद कार्यक्रम आयोजनाका लागि २ महिनाको समयमा खाल्टो पुरेर यो स्थानलाई सम्म्याईएको थियो भने पश्चिमतर्फको स्थानमा राजा राजपरिवारका सदस्य तथा बिशिष्ट अतिथीका लागि बस्ने स्थानको लागि एक तल्ले घर पनि तयार गरिएको थियो । मैदानमा घाँस नबिछ्याइएको ले प्रतियोगिताको दिन धुलो उड्ने डरले सधै पानी छर्किने गरिन्थ्यो। 'राज्यभिषेक कप' अन्तर्गत ६० मिनट खेलिएको फुटबल प्रतियोगितामा पहिलो पटक बिजुली अड्डाबाट झिकाएर 'फ्लड लाईट'को प्रयोग गरिएको थियो।
रंगशालाको दोस्रो चरणको निमार्ण कार्यका लागि बि स २०२२ सालमा नेपाल र चीन सरकारबीच पहिलो पल्ट सम्झौता भएपछि चीन सरकारलबाट सिमेन्ट र छड उपलब्ध भएको थियो भने यसै समय प्याराफिट निमार्णका लागि उत्तर तर्फको माटो समेत काट्ने काम भएको थियो तर आवश्यक रकमको अभावमा निर्माणको काम बीचैमा अडकिन पुग्यो।
बि सं २०२४ सालमा रा.खे.प बोर्ड पुर्नगठन भएपछि कुमार खडग विक्रम शाह परिषद्को नया सदस्य-सचिव तथा अध्यक्ष श्री ५ अधिराजकुमार बसुन्धरा विक्रम शाहको नेतृत्वमा रंगशाला निमार्णको काम पुन: सुरु हुन गयो । यसपछि २०२७ सालमा पूर्व र उत्तरतर्फ ५/५ लाईनको प्याराफिट तथा कभर्ड हल पनि निमार्ण भयो । यसपछि बि स २०३१ सालमा श्री ५ वीरेन्द्रको राज्यभिषेक सनारोहका लागि निर्णय भएपछि पुन: चीन सरकारसँग रंगशाला निमार्णका लागि सम्झौता भयो । राज्याभिषेकमा आयोजना हुने खेलकुद प्रतियोगिताका लागि रंगशालाको पूर्व र उत्तरतर्फ १४/१४ स्टेपको प्याराफिट पनि तयार भयो।
बि सं २०३४ सालमा शरदचन्द्र शाह राष्ट्रिय खेलकुद परिषद्को सदस्य-सचिव नियुक्त भएपछि रंगशालाको संरचनामा अझै सुधार आयो। रंगशालालाई अन्तर्राष्ट्रियस्तरको बनाउन २०३५ सालदेखि निमार्ण कार्य सुरु गरेर ०३७ सालमा पुरा गरियो। यतिबेला सरकारी रकम खर्च भएको थियो। त्यतिबेला बार्षिक रूपमा परिषद्को प्रशासनिक तर्फको खर्च ६ लाख रूपैया थियो भने विकाश बजेट २५ लाख रूपैया। रंगशालाको प्याराफिट भित्र अफिसका लागि कोठा निकाल्नेदेखि बाहिर सटर निमार्णको कामसमेत भएको थियो। प्याराफिटको माथिल्लो भाग थप गर्ने कामले पनि निरन्तरता पायो। यसैक्रममा भिआइपी प्याराफिटतर्फ लिफ्ट पनि जडान गरियो। रंगशाला निमार्णसंगै २०३८ सालमा दशरथ रंगशालामा पहिलो वृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको आयोजना गरियो। यसको दुई बर्षपछि यही रंगशालामा दक्षिण एसियाको पहिलो दक्षिण एसियाली खेलकुद प्रतियोगिता साफ सुरु भयो। २०४४ सालसम्म मैदान घेर्न पश्चिम दक्षिण र उत्तरतिरको प्याराफिट अगाडि नाङ्गो काडेँ तारले घेरिने गरिन्थ्यो। तर ४४ सालको दर्दनाक रंगशाला काण्डपछि काडेँ तारबाट मैदान घेर्न छोडियो।
दशरथ रंगशालाको हालको स्वरूप भने २०५५ सालमा तयार भएको हो। नेपालले आठौ साफ आयोजना गर्ने निर्णय भएलगत्तै चीन सरकारले आधुनिक रंगशाला निमार्णका लागि पुनः सहयोग गर् यो। आठौ साफ कै सन्दर्भमा रंगशालामा 'फ्लड लाईट' र स्कोर बोर्ड थपियो। यस्तै दर्शकहरू सहजै मैदानमा झिर्न नपाउनु भन्ने उद्देश्यले प्याराफिटको तलको तीन लेन फुटाइयो। प्याराफिट रेलिङले घेर्ने काम पनि भयो। पानीबाट प्रभाव नपर्ने 'वाटर प्रुफ' पेन्ट पुरै रंगशालामा लगाउनेलगायत पहिलो पल्ट ८ लेनको सेन्थेटिक ट्रयाकको पनि पुनः निमार्ण सम्पन्न गरियो।
#रंगशाला_काण्ड:
बि. स. २०४४ साल फागुन २९ गतेका दिन दशरथ रंगशालामा दिउँसो ३ बजे जनकपुर चुरोट कारखाना र बंगलादेशको मुक्तिजोद्धा बीच फुटबल खेल चलिरहेको थियो। दुवै टोली उपाधि भिडन्तमा रहेकाले निकै रोचक रहेको यो प्रतियोगिता हेर्न दर्शक खचाखच भरिएका थिए।
अचानक खेल चलिरहँदा ठूलो हुरी र पानी एकै साथ चल्नाले मानिसहरु भागभाग गर्न थाले । रंगशालाका सबै ढोकाका ग्रिलगेटमा चाबी लगाइएकोले समयमै ढोका नखुल्दा चौर घेरिएको काँडे तार नाघेरे जान मानिसको भागदौड चल्दा एकआपसमा च्यापिएर ७१ जनाको ज्यान गएको थियो ।
हाल जस्तो मौसम पूर्वानुमान शाखामा आवश्यक उपकरण उपलब्ध हुन्थे भने खेल तालिका अगाडि-पछाडि सार्न सकिन्थ्यो, त्यो बेलामा यस्ता उपकारण थिएनन् । अखिल नेपाल फुटबल संघबाट आयोजित यस खेलमा भएको दु:खद् घटना पछि खेलकुद परिषद् त्यसबेला शिक्षा मन्त्रालय अन्तर्गत पर्ने भएकोले तत्कालीन शिक्षामन्त्री केशरबहादुर विष्टले र सदस्य–सचिव शरदचन्द्र शाहले उच्च नैतिकता दर्शाउँदै राजीनामा पनि दिएका थिए।