Our Sports

Our Sports This page is dedicated for all the sports and sportsperson...

नेपाली महिला फुटबलका स्टार प्रिती राईको जन्म बुवा चन्द्र प्रसाद राई र आमा ज्ञानु राईको कोखबाट वि.सं. २०६१ साल मंसिर ५ गत...
07/03/2024

नेपाली महिला फुटबलका स्टार प्रिती राईको जन्म बुवा चन्द्र प्रसाद राई र आमा ज्ञानु राईको कोखबाट वि.सं. २०६१ साल मंसिर ५ गते भएको हो।उनको पुर्खेउली थलो सोलुखोम्बुको महाकुलुङ गाउँपालिका ४,गुदेल तुमाउ हो।तर उनका बुवा चन्द्र प्रसाद कुलुङ राई पहिला देखि नै काठमान्डौं बस्ने भएकाले प्रितीको जन्म काठमान्डौंमै भएको थियो। उनी उनका बुवाआमाका ३ सन्तान मध्ये पहिलो सन्तान हुन्।उनका २ जना भाइहरु छन्। प्रिती राई ७ वर्षको हुदा बुवाआमाले प्रितीलाई शारिरिक विकासको लागि खेलकुदमा संलग्न गराउन चाहन्थे जसकारण प्रितीलाई उनका बुवाले आत्मसुरक्षाको निम्ति पनि कराते सिक्न पठाए तर कराते सिक्न गएको २ दिन पछि छोरी झोलामा फुटबलको जुत्ता ल्याएर आइन्। उनी कराते खेलेर फर्किदैं गर्दा बाटोमा फुटबल प्रशिक्षण गरेको देखेर आफू पनि फुटबल खेल्न‌ चाहेको बताएर प्रशिक्षकबाट फुटबल बुट पनि ल्याएर आएकी रहेछिन् र आफू फुटबल खेल्न चाहने घरमा बताइन्।
प्रिती राई सानैबाट खेल्न र दौडिन खुब रहर राख्थिन्।उनको इच्छा अनुसार नै उनका बुवाआमाले पनि सधैं अतिरिक्त क्रियाकलापहरुमा भाग लिन प्रोत्साहन गरिरहे।६,७ वर्षको उमेर देखि नै फुटबल खेल्न थालेकी प्रिती घरमा दाजुभाइसंग खेल्थिन्।चौर तिर पनि दाजुभाइहरु सित खेल्थिन्।दाजुभाइहरुले खेल्न दिएनन् भनेपनि उनी जबरजस्ती घुसेर खेल्न थालिहाल्थिन्।उनी शारदा एकेडेमीमा पढ्थिन् ।उनलाई विद्यालयले पनि फुटबलमा लाग्न ठूलो मेहनत गरेको बताउछिन्।पछि नेपाल युवा कार्यक्रम (NYP) मा सहभागी भएर औपचारिक रुपमा फुटबल सिक्ने मौका पाइन्।उनले ११ वर्षको उमेरमा नेपाल युवा कार्यक्रममा समावेश हुनु अघि महिलाहरुको छुट्टै टोलीमा खेलिनन्।जब उनले नेपाल युवा कार्यक्रममा समावेश भएर सिक्न पाइन्,त्यहिबाट उनले खासमा फुटबल कसरी खेल्ने भनेर जानकारी पाइन्।त्यति मात्र होईन कसरी अनुशासित हुने,खेल प्रति कसरी प्रतिबद्ध हुने ,खेल सम्बन्धी नियम आदिको बारेमा राम्रो जानकारी पाइन्।उनले उक्त कार्यक्रममा डटेर २ वर्षको तालिम लिइन्।त्यसपछि उनलाई फुटबल प्रति थप मोह बढ्यो।सोहि तालिमकै कारण उनले २०७३ सालमा कोकाकोला कप खेल्ने अवसर पाइन्।त्यसको अर्को वर्ष उनले फेरि सिन्धुपाल्चोकबाट कोकाकोला कप खेलिन्।क्रमश काठमान्डौं जिल्लाको प्रतिनिधित्व गर्दै डेप्युटी मेयर कप खेलिन्।त्यसपछि उनले जिल्ला स्तरको थुप्रै खेलहरु खेल्ने मौका पाइन्।
अहिले स्नातक अध्यन गर्दै गरेकी प्रिती राई खेलसंगै अध्यनलाई पनि संगसंगै लान चाहन्छिन्।उनलाई खेल क्षेत्रको लागि परिवारको राम्रो सहयोग छ,परिवारको साथ सहयोगकै कारण खेल क्षेत्रमा लाग्ने अवसर पाएको उनी बताउछिन्।उमेरले प्रिती राई १९ वर्षकी भइन् ,उनले उमेर समुहको साफ च्याम्पियनसिपमा नेपालको अन्डर १५ र अन्डर १६ को राष्ट्रिय टोलीको कप्तानी गरेकी थिइन्।उनले एएफसि अन्डर १९ च्याम्पियनसिपको छनौट खेलमा समेत राम्रो प्रदर्शन गरेकी थिइन् जसको कारण विभागीय टोली एपिएफले उनलाई अनुबन्धन गरेको थियो। करारमा खेलिरहेकी प्रितीले त्यहा समेत आफूलाई प्रमाणित गरिन् फलस्वरुप एपिएफ टोली राष्ट्रिय महिला लिग च्याम्पियन भयो।त्यसपछि राष्ट्रिय टोलीको क्लोज क्याम्पमा दोश्रो पटक स्थान बनाएकी प्रितीले २०७८ भदौ २४ गते नेपाली महिला राष्ट्रिय टोलीमा डेब्यु गर्ने अवसर पाएकी थिइन्।उनले बंगलादेशसंग भएको मैत्रीपुर्ण खेलबाट आफ्नो अन्तराष्ट्रिय खेलको डेब्यु गरेकी थिइन् र उक्त खेलमै गोल गर्न पनि सफल भएकी थिइन्।उक्त खेलमा उनले गोल मात्र गरिनन्, उनी प्लेयर अफ द म्याच बनिन्।उनी राष्ट्रिय टिममा जर्सी नम्बर १४ लाएर मैदानमा उत्रिने गरेकी छिन्।
यसरी प्रिती राई सानै उमेर देखि क्लबमा होस् या राष्ट्रिय टिममा शक्तिशाली प्रदर्शन गर्दै आएकी छिन्।सानै उमेरमा सफलताको उचाइमा पुग्ने कोशिस गरेकी प्रिती राई देश भित्र मात्र हैन,बाहिरी क्लबहरुमा समेत खेल्न थालेकी छिन्।एट्याकिङ मिडफिल्डरको रुपमा खेल्ने प्रितीले भारतिय क्लबबाट आइ लिग समेत खेलिसकेकी छिन्।२ वर्ष पहिले नै उनलाई आइ लिग खेल्न भारतको फुटबल क्लब कोहलपुर सिटिले प्रस्ताव गरेको भए पनि उनको कम उमेरको कारण त्यति बेला अनुबन्धन हुन सकेकी थिइनन्। यो वर्ष भने उनले किकस्टार्टबाट खेलिसकेकी छिन्।
लियोनल मेस्सीको ठूलो फ्यान प्रिती राई आफू पनि मेस्सी जस्तै खेल्न रुचाउछिन्।तर अहिले भने उनी घुँडाको सल्यक्रियाको कारण बेडरेस्टमा छिन्।फुटबलर प्रिती राईको शिघ्र स्वास्थ्य लाभको कामना गरौं र उनी फेरी छिट्टै मैदानमा फर्कून्,शुभकामना।

1️⃣नेपाली खेलकुदको पुरानो खेल मध्ये एक हो क्रिकेट।शुरुवातबाटै क्रिकेटमा बेलायतको दबदबा रहेको कारणले ब्रिटिस शासकहरु जता ...
11/02/2024

1️⃣नेपाली खेलकुदको पुरानो खेल मध्ये एक हो क्रिकेट।शुरुवातबाटै क्रिकेटमा बेलायतको दबदबा रहेको कारणले ब्रिटिस शासकहरु जता जता पुगे,क्रिकेटलाई पनि त्यता त्यता डो-याएर लगे। जब १९ औं शताब्दिताका भारतमा ब्रिटिस राज थियो ,तब ब्रिटिस संगसंगै नजिक रहेका नेपाली राणा शासकहरुले क्रिकेटलाई नेपालमा सन् १९२० तिर नेपालमा भित्राए।बेलायतबाट पढाइ सकेर फर्किने क्रममा तत्कालीन राणा शासकहरूले आफ्नै मनोरञ्जनका लागि नेपालमा क्रिकेट भित्राएको मानिन्छ। श्री ३ चन्द्र शमशेरका कान्छा छोरा मदन शमशेर नेपाली क्रिकेटका पिताका रूपमा चिनिन्छन् ।देशव्यापी रूपमा क्रिकेट विकास र विस्तार गर्ने उद्देश्यले वि.सं. २००३ सालमा नेपाल क्रिकेट संघ(CAN)को स्थापना भएको थियो। तर, २००७ सालमा राणा शासन नफ्याँकिए सम्म क्रिकेट राणा परिवार, उनीहरूका आफन्त, नातेदार र दौतरीमा मात्र सिमित थियो। उनीहरूले दरबार र टुँडिखेलमा क्रिकेट खेल्थे।नेपाल क्रिकेट संघ(CAN)को स्थापना भएको १२ वर्षपछि मात्र राष्ट्रिय खेलकुद परिषदको स्थापना भयो र त्यसको २ वर्षमा क्रिकेट राष्ट्रिय खेलकुद परिषदमा समन्वयन भयो।परिणाम स्वरुप क्रिकेट खेल काठमान्डौंको विभिन्न क्षेत्रहरुमा खेल्न थालियो र स्थानीय स्तरको खेलहरु पनि काठमान्डौंमा आयोजना हुन थालिए।

2️⃣भौतिक पूर्वाधार,सुचना प्रविधिको माध्यम,यातायात आदिको कारणले गर्दा काठमान्डौं जिल्ला बाहेक बाहिर क्रिकेट विकसित हुन सकेको थिएन।तर पनि तराईको केहि क्षेत्रहरुमा भने भारतको प्रभावको कारण काहि कतै क्रिकेट खेल्दै गरेको देखिन्थ्यो।वि.सं. २०४० कै समयमा राजधानी बाहिर बाराको कलैया, पर्साको वीरगन्ज, धनुषाको जनकपुर, बाँकेको नेपालगन्ज, रुपन्देहीको भैरहवा लगायत तराईका जिल्लाहरूमा क्रिकेट खेल्न थालिएको इतिहास छ। त्यही बेला नेपाल क्रिकेट संघ अन्तर्गत क्षेत्रीय र जिल्ला संघहरू स्थापना भएपछि विद्यालयमा पनि क्रिकेट खेलको मोह बड्दै गयो। वि.स २०४५ सालमा नेपालले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एफिलियट सदस्यता पाएको हो। त्यसपछाडि भने नेपालका केहि ठाउँहरुमा जिल्ला स्तरीय प्रतियोगिता तथा क्षेत्रीय स्तरका प्रतियोगिताहरु हुन थाल्यो र विद्यालयमा पनि क्रिकेटको विकास हुँदै गयो र क्रिकेटले नयाँ मोड लियो। सन् १९८० देखि १९९० बिचको एक दशकमा क्रिकेट प्रतिको रुची एकदमै तिव्र रुपमा विकास हुँदै गयो फलस्वरुप १९९० मा नेपाल एसियन क्रिकेट काउन्सिल (ACC) को एसोसिएट सदस्य भयो भने त्यसको ४ वर्ष पछि नेपाल एसियन क्रिकेट काउन्सिल (ACC) को पूर्ण सदस्य नै बन्यो।र त्यसको २ वर्ष पछि भने नेपाल अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) को एफिलियट सदस्यताबाट एसोसिएट सदस्यमा बढुवा भयो।र त्यस पछि मात्र त्रिभुवन विश्वविद्यालय (TU) अन्तराष्ट्रिय मैदानले अहिलेको स्वरुप पायो।


3️⃣सन् १९९६ मा नेपालले (२०५२ सालमा) आइसीसीको एसोसिएट सदस्य बनेपछि नेपाली क्रिकेट टिमले पहिलो पल्ट अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता जनायो। नेपालका प्रथम क्रिकेट कप्तान उत्तम कर्माचार्यको नेतृत्वमा नेपालले ACC ट्रफीमा सहभागिता जनायो जुन मलेसियामा आयोजना भएको थियो।मलेसियाको क्वालालम्पुरमा सम्पन्न एसीसी ट्रफीमा ब्रुनाइ र जापानलाई पराजित गरेपनि नेपाल टेबलको चौंथौ स्थानमा आउँदै पहिलो चरणबाटै बाहिरिएको थियो।त्यसको २ वर्षपछि १९९८(२०५५) मा नेपालले आफैं ACC ट्रफी आयोजना गर्दै थियो जुन नेपालले आयोजना गरेको पहिलो अन्तराष्ट्रिय प्रतियोगिता थियो। नेपालले उक्त प्रतियोगिता किर्तिपुर , पुल्चोकको क्रिकेट मैदान र सेन्ट जेभियरको मैदानमा आयोजना गरेको थियो।उक्त प्रतियोगितामा दर्शकहरुको सहभागिताले जनाउदै थियो कि अब नेपाली क्रिकेटले उज्वल भविष्यको यात्रा गर्दैछ। यद्यपि दुर्भाग्य नै भन्नुपर्छ, घरेलु मैदानमा पहिलोपटक आयोजित प्रतियोगितामा नेपाली टोलीले एउटै पनि खेल जित्न सकेन । घरेलु भूमिमा सबै खेल हारे पनि नेपालको क्रिकेट यात्रा रोकिएन। खेलाडीहरूले अझ धेरै सिक्ने र जान्ने मौका पाए । राज्यको कम लगानी र खेलाडीहरूको अथक प्रयासले नेपाली क्रिकेटले एकपछि अर्को सफलता हात पार्दै गयो ।

4️⃣त्यसपछि सन् २००० मा नेपाली यू–१९ टोली अन्डर १९ विश्वकपमा सहभागिता जनायो।त्यस प्रतियोगितामा नेपालले पहिलो चरण पार गरेर दोश्रो चरणमा प्रवेश गर्न सफल भएको थियो।तर दोश्रो चरणमा भने बलियो मानिएको भारत,पाकिस्तान,अस्ट्रेलिया जस्ता देशहरुसंग पराजित हुनु प-यो।नेपालसंग भिडेको भारतीय टिममा युवराज सिंह,पाकिस्तानी टिममा सोएब मल्लिक र अस्ट्रेलियन टिममा माइकल क्लार्क जस्ता खेलाडीहरु थिए। उक्त प्रतियोगितामा त्यो स्तरका खेलाडीहरुसंग खेल्ने अवसर पाएसंग संगै एउटा प्रतिभाशाली खेलाडीलाई जन्माएको थियो जसको नाम थियो बिनोद दास जसले पछि गएर नेपाली क्रिकेटको नेतृत्व गरे ।त्यो अन्डर १९ विश्वकपमा राम्रो छाप छाडेर आएको नेपालले त्यस पछाडिका केहि अन्डर १९ विश्वकप खेल्ने अवसर पाइ नै रह्यो। २००२ को अन्डर १९ विश्वकपमा नेपालले अन्डर १९ पाकिस्तानी टिमलाई हरायो जहाँ सलमान बट र उमेर गुल जस्ता खेलाडीहरु थिए। २००४ को अन्डर १९ विश्वकपमा नेपालले साउथ अफ्रिकन अन्डर १९ टिमलाई हरायो जहाँ डेल एल्गर जस्ता खेलाडी थिए।त्यस्तै २००६ को अन्डर १९ विश्वकपमा नेपालले न्युजिल्याण्डको अन्डर १९ टिमलाई हरायो मार्टिन गुप्टिल र टिम साउथी जस्ता खेलाडीहरु थिए।अन्डर १९ विश्वकप जस्तै प्रतियोगिताहरुले नेपाललाई पारस खड्का,शक्ति गौचन,बसन्त रेग्मी,शरद भेषवाकर अनि ज्ञानेन्द्र मल्ल जस्ता युवा खेलाडीहरु दिएको थियो जसको आगमनले नेपाली क्रिकेट फ्यानहरुलाई एउटा सपना देखाउदै थियो।

5️⃣ नेपालले अन्तराष्ट्रिय स्टेजमा फड्को मार्दै गरेको सन्दर्भमा नेपालले पहिलो पटक सन् २००१ मा आइसिसीको प्रतियोगिता आइसिसी ट्रफीमा सहभागिता जनायो।क्यानडामा हुँदै गरेको उक्त प्रतियोगिता २००३ मा हुने विश्वकप छनौटको लागि खेलिएको थियो।तर नेपाल पहिलो चरणबाटै यस प्रतियोगिताबाट बाहिरियो।नेपालले फेरि सन् २००२ मा सिङ्गापुरमा भएको एसिसी ट्रफीमा सहभागिता जनायो जहाँ नेपाल फाइनलमा युएईसँग ६ विकेटले पराजित हुँदै उपविजेतामा सिमित भयो । नेपालले यस प्रतियोगितामा एक प्रभावशाली खेलाडी मेहबुब आलमको मुहार पाएको थियो।मेहबुब आलमले उक्त प्रतियोगितामा ११ विकेट लिदैं सर्वाधिक विकेट टेकरको उपाधी पनि पाएका थिए र उनले आउने समयमा अझै चमात्कार देखाउनेवाला थिए।नेपालले अब विस्तारै अन्तराष्ट्रिय स्तरमा प्रगति गर्दै थियो।सन् २००१ मा पहिलो पल्ट एसिसि यु १९ एलाइट कप आयोजना गरी उक्त प्रतियोगिता जितेको थियो।नेपाल उक्त प्रतियोगितामा सधैं बलियो रहिरह्यो।नेपालले सन् २००३,२००५,२००७ मा उक्त प्रतियोगिता जितेको थियो।नेपालले सन् २००३ मा एसिसि इमर्जिङ नेसन्स कपको आयोजना गर्यो, उक्त प्रतियोगिता नेपालको लागि यसकारण पनि विशेष थियो किनकी राजु खड्काले उक्त प्रतियोगितामा भुटान विरुद्ध नेपालको लागि पहिलो पटक शतक प्रहार गरेका थिए। सन् २००५ मा नेपालले युएईमा आयोजित एसिसी फास्ट ट्र्याक नेसन्स कपमा दोश्रो स्थान हासिल ग-यो।सन् २००६ मा नेपालले एसिसि ट्रफीमा प्रतिस्पर्धा ग-यो जसमा फेरि नेपाल सेमिफाइनलमा युएईसंग पराजित हुन पुग्यो।उक्त प्रतियोगितामा बिनोद दासले सर्वाधिक १४ विकेट लिएका थिए।नेपाली क्रिकेटको इतिहासमा यो प्रतियोगितालाई यस कारण पनि याद गरिन्छ किनकी यस प्रतियोगितामा नेपालले विश्वकिर्तिमान कायम गरेको थियो।नेपालले म्यानमारलाई कुल १० रनमा समेटेको थियो।नेपालका लागि मेहबुब आलमले सर्वाधिक ७ विकेट र बिनोद दासले ३ विकेट लिएका थिए।

6️⃣आज पनि नेपाली क्रिकेटमा नेपालको आजको यो सफलता आइसिसि वल्ड क्रिकेट लिग डिभिजन ५ देखिको संघर्षले ल्याएको सफलता हो।नेपालले पहिलो पल्ट यो प्रतियोगिता सन् २००८ मा खेल्यो।यो प्रतियोगिता यो ढंगले राखिएको हुन्छ कि शिर्ष दुई टिम अगाडिको डिभिजनको लागि प्रोमोट हुने गर्छन् भने पुच्छरको दुई टिमहरु फेरि रेलिगेट हुने गर्छन्। सन् २००८ मा नेपालले खेलेको न्यूजर्सीमा भएको उक्त प्रतियोगितामा समूह ‘ए’को शीर्ष टोली बनेर सेमिफाइनल पुगेको नेपाली टोली अन्तिम चारमा अफगानिस्तानसँग पराजित भयो । तर प्लेअफमा अमेरिकालाई हराउँदै नेपालले तेस्रो स्थान हात पार्यो । नेपाल तेस्रो भएपछि विश्वकप २०११ खेल्ने सपना अधूरो रह्यो तर नेपालले यस प्रतियोगितामा फेरि विश्वकिर्तिमान कायम गरेको थियो।यस प्रतियोगितामा मेहबुब आलमले एकै खेलमा एक्लैले मोजाम्बिक विरुद्ध १० विकेट लिएर विश्वकिर्तिमान कायम गरे र उक्त प्रतियोगिताको सर्वाधिक विकेट टेकर पनि बने।नेपालले यसरी नै एक पछाडि अर्को उपलब्धी हासिल गर्दै गरेको थियो।नेपालले सन् २००९ मा एसिसि ट्वान्टी-२० कपमा सहभागिता जनाएर ५ औं स्थान हासिल ग-यो।उक्त प्रतियोगितामा नेपालका लागि पहिलो पल्ट डेब्यु गरेका विनोद भण्डारीले कुवेत विरुद्धको रोमाञ्चक खेलमा अन्तिम बलमा छक्का प्रहार गरी नेपाल पराजित हुन लागेको खेललाई ड्र गराएका थिए जहाँ नेपाललाई १ बलमा ७ रनको आवश्यकता परेको थियो।उक्त खेल पछि विनोद भण्डारीलाई नेपाली क्रिकेटमा हार्ड हिटरको उपनामले चिनिन थाल्यो‌।सन् २०१० देखि नेपाली क्रिकेटले विगतका दिनहरुलाई फर्केर भने हेर्न परेन।नेपाली क्रिकेटले सुनौलो बिहानीको महसुस गरिरहेको थियो किनकी अबका दिनहरुमा नेपाली क्रिकेटले एकपछि अर्को सफलता हासिल गर्नेवाला थियो।सन् २०१० को फेब्रुअरीमा काठमाडौंमा सम्पन्न आइसिसि वल्ड क्रिकेट लिग डिभिजन ५ नेपालले जित्यो । अमेरिकालाई फाइनलमा हराएर जितेको त्यो नेपालको पहिलो अन्तराष्ट्रिय उपाधि थियो । उक्त प्रतियोगितामा शरद भेषवाकरले शतक प्रहार गरेका थिए।नेपालले सन् २०१० मा एसिसि ट्रफी एलाइट कपको सम्पूर्ण खेलहरु जित्दै फाइनल पुगेको थियो।तर फाइनलमा नेपालको भिडन्त विगत केहि वर्ष देखि नेपाली क्रिकेटको लागि तगारो बन्दै आएको राष्ट्र अफगानिस्तानसंग भयो।उक्त प्रतियोगितामा नेपाल अफगानिस्तानसंग फाइनलमा ९५ रनले पराजित हुन पुग्यो। सन् २०१० मा नेपालले आइसिसि वल्ड क्रिकेट लिग डिभिजन-४ मा प्रतिष्पर्धा ग-यो तर यसपटक पनि नेपाल तेस्रो हुँदै रेलिगेसनबाट जोगियो र फेरि अर्को पटक पनि आइसिसि वल्ड क्रिकेट लिग डिभिजन-४ खेल्न बाध्य बन्यो।सन् २०१० मै नेपालले एसियन खेलमा सहभागिता जनायो र क्वाटर फाइनलमा बलियो टिम श्रिलंकासंग पराजित भयो।नेपालको लागि यो आइसिसि पुर्ण सदस्य राष्ट्रसंगको पहिलो भिडन्त थियो।सन् २०११ मा नेपालले एसीसी ट्वान्टी–२० कपको आयोजना गरेको थियो।नेपालले उक्त प्रतियोगितामा चौंथो स्थान हासिल गरेको थियो।चौंथो स्थान हासिल गरे बावजुद नेपालले २०१२ मा हुने आइसिसि वल्डकप ट्वान्टी-२० क्वालिफायरमा छनौट भएको थियो। नेपालका लागि विश्वकप खेल्ने सुनौलो अवसर थियो तर नेपालले यो प्रतिष्पर्धामा ७ औं स्थान हासिल गर्दै विश्वकपमा भने छनौट हुन सकेन।तर त्यसपछि पनि नेपाली क्रिकेटको कोशिस भने जारी रह्यो।सन् २०१२ मा भने नेपाल आइसिसि वल्ड क्रिकेट लिग डिभिजन-४ को विजेता बन्यो र आइसिसि वल्ड क्रिकेट लिग डिभिजन-३ मा प्रोमोटेड भयो।सन् २०१२ मा नेपालले एसिसि ट्रफी एलाइट कपको फाइनलमा युएईसंग बराबरी खेल्दै संयुक्त रुपमा ट्रफी शेयर गरे।उक्त प्रतियोगितामा नेपाली टिमका कप्तान पारस खड्काले शतक पनि प्रहार गरेका थिए।

7️⃣कुनै पनि व्यवस्थित पूर्वाधार अनि लगानि नभएको खेलमा नेपालले जुन किसिमले आफ्नो कदम बढाइरहेको थियो,नेपालले क्रिकेटमा जुन किसिमको आफ्नो जग बसाल्दै थियो त्यसका प्रमुख आर्किटेक्ट पारस खड्का नै थिए।नेपाली क्रिकेटलाई पारस खड्काले एउटा नयाँ रुप दिएका थिए।उनकै कारणले नेपाली क्रिकेटको आत्मबल एउटा छुट्टै स्थानमा पुगेको थियो।सन् २०१३ मा नेपालले फेरि पनि काठमाडौंमा सम्पन्न एसिसी टी–२० कपमा सेमिफाइनलमा युएईलाई ६ विकेटले पराजित गर्दै फाइनलको यात्रा तय ग-यो तर फाइनलमा नेपालको लागि तगारो बनेर बसिरहेको थियो अफगानिस्तान।यस पटक पनि अफगानिस्तानसंग नेपाल ७ विकेटले पराजित हुन पुग्यो।यता सन् २०१३ को मार्चमा सम्पन्न आइसिसि वल्ड क्रिकेट लिग डिभिजन–३ मा पनि विजेता बन्दै डिभिजन–२ मा उक्लियो।अब नेपाली क्रिकेट इतिहासको सबैभन्दा महत्वपूर्ण दिन नेपालीहरुको अगाडि थियो जुन रहेको थियो २०१४ मा हुन गइरहेको आइसीसी विश्व टि–२० प्रतियोगिता। तर नेपालले यस प्रतियोगिता खेल्नु अघि आइसीसी विश्व टि–२० क्वालिफायर खेल्नु जरुरी थियो जुन युएईमा हुन गइरहेको थियो। नेपालले यस प्रतियोगितामा यो भन्दा अगाडि पनि नखेलेको होईन तर यस पटक नेपाली टिममा थुप्रै उर्जा,आशा र उमंग थियो।परिणाम स्वरुप नेपालले यस प्रतियोगितामा तेस्रो स्थान हासिल गर्दै विश्वकपमा आफ्नो स्थान सुरक्षित ग-यो र यो संगसंगै नेपालले आइसीसी विश्व टि–२० को स्टाटस पनि प्राप्त ग-यो।नेपालको अबको टार्गेट थियो आइसीसी विश्व टि–२० वल्डकप २०१४।सबै नेपालीहरुलाई आशा थियो नेपालले उत्कृष्ट खेल प्रदर्शन गर्नेछ भनेर,नेपाली दर्शकको आशालाई कायम राख्दै नेपालले पनि आफ्नो पुरानो प्रतिद्वन्दी अफगानिस्तानलाई विश्वकपमै पराजित ग-यो।विदेशी कमेन्टेटरहरु एक आपसमा शक्ति गौचनको चर्चा शक्ति द पावर भन्दै गर्दै थिए।अफगानिस्तानसंगै नेपालले हंगकंगलाई समेत पराजित ग-यो।नेपाल बंगलादेशसंग भने पराजित हुन पुग्यो।अंकतालिकाको हिसाबमा नेपाल र बंगलादेशको बराबर अंक रहेता पनि नेट रनरेटको आधारमा बंगलादेश दोश्रो चरणमा प्रवेश ग-यो।विश्वकप यात्रा भलै छोटो भएता पनि नेपालको लागि एकदमै यादगार बनेको थियो।अन्तराष्ट्रिय स्तरमा पनि नेपाली क्रिकेटरहरुलाई हेर्ने नजर अब छुट्टै स्थानमा पुगेको थियो।विश्वकप खेलेर आएका खेलाडीहरु सेलिब्रेटी बनेका थिए।नेपाली क्रिकेट उच्च स्थानमा पुगिसकेको थियो।

8️⃣ २०१४ टि-२० विश्वकप पछि भने आगामि दिनहरु नेपाली क्रिकेटरहरुको लागि त्यति सम्झन लायक रहेनन्।नेपाली क्रिकेटमा आन्तरिक रुपमा कहि कतै केहि समस्याको गन्ध आइरहेको थियो।नेपाली क्रिकेट उकालो भन्दा पनि कतै ओरालो पो लाग्ने हो कि भन्ने अवस्था आइसकेको थियो।खेलाडीहरु मात्र भन्दा पनि राजनीतिक अस्थिरता,क्रिकेट एसोसियन अफ नेपाल (CAN) मा भएको राजनीतिक गतिविधि तथा विभिन्न भौतिक पूर्वाधारका विकास,खेलाडीलाई दिने सुविधा देखि लिएर क्रिकेटरलाई आवश्यक पर्ने कुराहरुमा कुनै पनि क्षेत्रमा सम्बन्धित निकायले चासो नदेखाएको कारणले नेपाली क्रिकेट विस्तारै ओझेल पर्दै थियो।परिणाम स्वरुप २०१५ मा आयोजना भएको आइसिसि वल्ड क्रिकेट लिग डिभिजन–२ मा नेपाल ४ स्थानमा आयो र डिभिजन-१ को लागि छनौट हुन सकेन। अर्को तर्फ त्यहि साल भएको आइसिसि वल्डकप क्वालिफायरमा नेपाल सातौं स्थानमा आयो र यसपल्ट विश्वकप खेल्नबाट चुक्यो र लगत्तै नेपालले पाएको टि-२० स्टाटस पनि संगै गुम्यो।सन् २०१६ अप्रिलमा क्रिकेट एसोसियन अफ नेपाल (CAN) लाई आइसिसिले निलम्बन ग-यो।उक्त समय पछाडि डार्क फेज अफ नेपाली क्रिकेटको शुरुवात भयो।क्रिकेट एसोसियन अफ नेपाल (CAN) भित्र भ्रष्टाचारको आरोप लाग्नुका साथै CAN भित्र भएका आर्थिक अनियमितता र आइसिसिसंगको प्रतिबद्धताहरु उल्लंघन गरेको हुनाले आइसिसिले उक्त निर्णय लिन बाध्य भएको थियो।यता CAN ले भने आइसिसिबाट आएको फन्डिङहरुलाई अनियमितता गर्नुको साथै पारदर्शिता दिन नसकेका कारणले गर्दा आइसिसिले नेपालको फन्डिङ माथि पनि रोक लगाएको थियो।यस्तो अवस्थामा खेलाडिहरुलाई न त खेल खेल्नका लागि आवश्यक पर्ने सुविधा नै थियो न त राम्रो तलब नै।अर्को तर्फ CAN भित्र राजनीतिक हस्तक्षेप भइरहेको थियो जसले गर्दा खेलकुदको विकासमा भन्दा पनि पदका लागि प्रतिस्पर्धा हुन थालेको थियो।क्रिकेटको विकास हुनु त फरक कुरा हो यहाँ त क्रिकेट खेलाडीहरु विदेशिने क्रम बढ्दै थियो।त्यति मात्र हैन त्यतिखेरको परिस्थीतिले गर्दा कैयौं खेलाडीहरुको क्रिकेटिङ करियर नै अन्त्य भयो।राष्ट्रको लागि खेलेता पनि राष्ट्रबाट कुनै प्रकारको प्राथमिकता नपाएको कारणले खेलाडीहरुमा नैराश्यता थियो।खेलाडीहरुले क्रिकेटलाई उकास्न कोशिस त गरिरहे तर पनि खेलकुदको वातावरण नभएका कारण नेपाली क्रिकेट पछि परिरह्यो।लगभग ६ वर्ष पछि केहि सम्झौताका साथ आइसिसिले CAN को निलम्बन फुकुवा ग-यो।सन् २०१८ मा आइसिसि वल्ड क्रिकेट लिग डिभिजन-२ मा नेपालले दोश्रो स्थान हासिल गर्दै २०१८ आइसिसि क्रिकेट वल्डकप क्वालिफायरमा नेपाल छनौट भएको थियो। डिभिजन-२ को उक्त प्रतियोगितामा क्यानडा विरुद्ध १० औं स्थानमा आएका सन्दिप लामिछाने र करण केसी बिच अप्रत्यासित साझेदारी भएको थियो।कैयौं वर्षको संघर्ष र मेहनत पछाडि नेपालले अन्तत २०१८ मार्च १५ मा पहिलो पटक अन्तराष्ट्रिय एक दिवशीय खेल खेल्ने स्टाटस प्राप्त ग-यो । त्यसकै ४ महिना पछाडि नेपालले आफ्नो पहिलो अन्तराष्ट्रिय एक दिवशीय खेल खेल्यो जुन नेदरल्याण्ड विरुद्ध थियो।नेदरल्याण्ड विरुद्धको उक्त सिरिज १-१ को बराबरीमा सकियो।त्यस लगत्तै आइसिसिले अन्तराष्ट्रिय एक दिवशीय खेल खेल्ने अनुमति पाएका एसोसिएट राष्ट्रहरु नेपाल,स्कटल्याण्ड,ओमन,नामिबिया, अमेरिका,पपुवा न्युगिनी र युएई बिच २०१९ देखि २०२३ सम्म आइसिसि क्रिकेट वल्डकप लिग-२ को प्रतियोगिता आयोजना ग-यो। प्रतियोगिता मध्येको टप ३ राष्ट्रहरुले सन् २०२३ मा हुने आइसिसि वल्डकप क्वालिफायर पाउने थिए।नेपालको यस प्रतियोगितामा शुरुवाती खेलहरुमा त्यति सन्तोषजनक प्रदर्शनी भने थिएन।तर पनि कुनै कुनै म्याचमा भने नेपालले उत्कृष्ट प्रदर्शनी गरिरहेको थियो।नेपालले अमेरिकालाई ३५ रनमै समेटेर विश्व किर्तिमान नै राखेको थियो तर पनि नेपाल अंकतालिकाको पुच्छर तिरै थियो।नेपालले कतै आफ्नो अन्तराष्ट्रिय एक दिवशीय स्टाटस गुमाउने पो हो कि भन्ने चिन्ता थियो।शिर्ष ३ मा परेर वल्डकप क्वालिफायर खेल्ने त परको सपना थियो तर नेपाली क्रिकेटको भाग्य भने फरक ढंगले कोरिएको रहेछ।

9️⃣ सन् २०२३ जनवरी १५ मा नेपाली क्रिकेटले एउटा नयाँ अभिभावक पायो जसको नाम थियो मोन्टी देशाइ।देशाइको आगमनसंगै सबैकुरा फेरियो।नेपालले उक्त प्रतियोगितामा मात्र १२ खेल खेल्न बाँकी थियो।नेपालले आफ्नो अन्तराष्ट्रिय एक दिवशीय स्टाटस बचाउनको निम्ति शिर्ष ५ मा पर्न आवश्यक थियो भने अझ त्यो वल्डकप क्वालिफायरमा प्रवेश गर्नको निम्ति शिर्ष ३ मा पर्नै पर्ने थियो जसका निम्ति नेपालले आउने १२ खेल मध्ये ११ खेल जित्नै पर्ने दबाव थियो।देशाइको आगमन पछाडि नेपाली क्रिकेटमा नयाँ उर्जा थपियो।खेलाडीको आत्मविश्वास तथा खेललाई हेर्ने दृष्टिकोण नै परिवर्तन भयो।युवा कप्तान रोहित पौडेलको नेतृत्वमा रहेको राष्ट्रिय टिमले अप्रत्यासित रुपमा १२ खेल मध्ये ११ खेल जित्न सफल भयो जुन फर्केर हेर्दा एउटा सपना जस्तो लाग्छ।नेपालले बलियो भन्दा बलियो मानिएका स्कटल्याण्ड,युएई जस्ता राष्ट्रहरुलाई सजिलै पराजित ग-यो।दशकौं देखि नेपालको लागि समस्या बन्दै आइरहेको ब्याटिङ लाइनअप यसपटक भने निकै नै उत्कृष्ट ढंगले परिवर्तन भएको थियो।सन् २०२३ मा जिम्बावेमा सम्पन्न भएको विश्वकप छनौटमा नेपालले दुई जित र चार हार प्राप्त गर्दै १० राष्ट्र सहभागी प्रतियोगितामा आठौं बन्यो । सुपर ६ मा पुग्ने लक्ष्य बोकेर गएको नेपालका लागि यो सुखद नतिजा होइन । तर, नेपालले खेलेका ६ म्याच मध्ये ३ वटा म्याच टेस्ट मान्यताप्राप्त राष्ट्र विरुद्ध थिए र उनीहरु विरुद्ध विभिन्न क्षणहरूमा नेपालले गर्व गर्न लायक प्रदर्शनहरू गर्यो । न्यून स्रोत साधन र विभिन्न प्रकारका चुनौतीसँग सङ्घर्ष गर्दै एशियाली कप–२०२३ मा समूह चरणबाट नेपाल बाहिरिए पनि अनेक अनुभव बटुलेर स्वदेश फर्केको छ ।

🔟नेपाली राष्ट्रिय क्रिकेट टीमको प्राविधिक र आर्थिक पक्षतर्फ सरकारको गम्भीर ध्यानाकर्षण हुने हो भने क्रिकेटको दुनियाँमा नेपालको भविष्य उज्ज्वल देखिन्छ । अझै पनि क्रिकेटमा भौतिक पूर्वाधारहरुको विकास भएको छैन।नेपाली क्रिकेटको इतिहास हेर्दा न्यून स्रोत साधनका बावजूद विभिन्न चरणहरू पार गर्दै आज विश्वव्यापी प्रतिस्पर्धामा सहभागिता जनाउनु हाम्रो लागि गर्वको विषय हो ।

Address

66 Highfield Garden
Grays
RM162NU

Telephone

+447824191610

Website

Alerts

Be the first to know and let us send you an email when Our Sports posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Our Sports:

Share