23/08/2026
यो छोटो क्लिप देखेर तपाईंहरु माझ राख्दिन उचित लाग्यो।
केही दिन अघि एउटा पोष्ट राखेको थिएँ कि २०-२२ वर्ष पहिले नेपालका मेडिकल डाक्टरहरुलाई व्यायामको महत्व खासै ज्ञान थिएन तर अहिले आएर व्यायामको महत्व बारे धेरै डाक्टरहरुले भन्ने गरेका छन् भनेर। बरु व्यायाम सिकाउने प्रशिक्षकहरुले व्यायामको कुराहरु गर्नै छाडेका छन् भनेर। यस्तो लाग्यो धेरैले कुरा राम्रोसँग बुझेनन् भन्ने।
२०-२२ वर्ष अघि नेपालीको पढाइको तरिका केवल किताबी थिए, घोकन्ते थिए। हुन त अझै पनि छन, शिक्षाको प्रणाली परिवर्तन भएकै छैन। अधिकांश डाक्टर बन्न हिंडेका विद्यार्थीहरु व्यायाम नै गर्दैनथे। व्यायामको महत्वको ज्ञान हुने कुरै भएन। १५-२० वर्ष अघि पढाइ सकेर डाक्टर बनेकाहरु अहिले अभ्यस्त भइसकेका छन्। यो समयमा व्यायामको क्षेत्र धेरै अगाडि बढिसकेको छ। जति द्रुत गतिमा बढ्यो समस्या पनि सँगै द्रुत गतिमा बढ्छ। ती डाक्टरहरुकोमा व्यायामको होडमा लागेर बिरामी पर्नेहरु नै जाने हुन्। डाक्टरहरुले धेरै अनुभव गर्न भ्याइसकेका छन् र त्यही अनुभवका आधारमा जनमानसमा चेतना फैलाउने प्रयास पनि गरिरहेका छन्। यो एकदम राम्रो पक्ष हो।
व्यायामको बारेमा त दर्जनौं लेखहरु लेखेर पाठकहरु समक्ष हुत्याइसकेको छु। चाहे जस्तोसुकै प्रशिक्षक होस्, सर्टिफाइड होस्, नहोस्, अनुभवी होस् नहोस्, इन्टेर्नेसनल होस् कि अर्कै ग्रहबाट सर्टिफिकेट ल्याएको होस्, कलिलै उमेरका युवतीहरुलाई कसैले रसायनिक सप्लिमेण्ट खाने सल्लाह दिञ्छ भने त्यो कागजको खोस्टो ट्वाइलेट पेपर सरह हुञ्छ (अलि कठोर हुन करै लागेको छ)।
व्यायाम भनेको शारीरिक तथा मानसिक स्वास्थ्यको लागि गर्ने अभ्यास हो। स्वास्थ्य नै नरहे के को शरीर? के को मन? थलिएर बस्न पर्ने स्थिति आउँछ। त्यसैले बेलैमा सोचौं।
ॐ नमो रुद्राय 🕉🔱🙏