15/01/2026
“सय थरि बाजा एउटै ताल
सय थरि गोडा एउटै चाल
सब हो एउटै हामी नेपाली
एउटै हाम्रो देश नेपाल”
आज माघ १ — प्रकृति फेरिने दिन मात्र होइन, नेपाली विविधताको सुन्दर संगम पनि हो। आ–आफ्नो मौलिक परम्परा र महत्त्वअनुसार विभिन्न समुदायमा फरक–फरक तरिकाले मनाइने यो विशेष दिन, वास्तवमा अनेकतामा एकताको प्रतीक हो।
मकर सङ्क्रान्ति | माघे सङ्क्रान्ति
माघे सङ्क्रान्ति अर्थात् माघ महिनाको पहिलो दिन हो। माघ मध्य–हिउँदको एक महत्त्वपूर्ण महिना हो। यस दिन सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्दछन्। यही कारण आजको दिनलाई माघे सङ्क्रान्ति, तिलुवा सङ्क्रान्ति, मकर सङ्क्रान्ति वा माघीका नामले आ–आफ्नै विशेषता र सांस्कृतिक महत्त्वका साथ मनाइने गरिन्छ।
मगर समुदाय
मगर समुदायमा यस दिनलाई एक विशेष उत्सव तथा पर्वका रूपमा सकराटी (माघे सकराट) मनाइन्छ।
नेवार समुदाय
नेवार समुदायमा माघे सङ्क्रान्ति ‘घ्यः चाकु संल्हू’ का रूपमा मनाइन्छ।
किरात समुदाय — येले संवत्
नेपालमा प्रचलित संवत् हरूमध्ये किरात येले संवत् एक हो। माघको पहिलो दिनलाई किरात येले संवत् आरम्भ अर्थात् नयाँ वर्षका रूपमा मनाइन्छ।
थारू समुदाय — माघी
माघी नेपालमा बसोबास गर्ने थारू समुदायको प्रमुख चाड हो। माघीलाई थारूहरूको मौलिक संस्कृति, पहिचान र परम्पराले भरिएको सबैभन्दा ठूलो पर्वका रूपमा लिइन्छ।
हामी जोडिने, रमाउने र उत्सव मनाउने नाम र शैली फरक–फरक हुन सक्छन्, तर भावनाहरू एउटै छन्। सबै पर्वमा नयाँ सुरुवात, आशा र समृद्धिको कामना समेटिएको छ।
समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा नयाँ सुरुवात र समृद्धिको लहर छाओस्, यस विशेष दिन तथा यी पावन पर्वहरूको हार्दिक एवं मङ्गलमय शुभकामना।